Thaha

Monday 29 April - 4:38 pm NST

भाइरसको संक्रमणलाई ‘विश्वव्यापी  स्वास्थ्य आपतकाल’ घोषणा


काठमाडौं, १९ माघ । विश्व स्वास्थ्य संगठनले जिका भाइरसको संक्रमणलाई ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ । जिका भाइरसको संक्रमण र यसबाट बच्नका लागि गर्नुपर्ने कामका विषयमा छलफल गर्न जेनेभामा बसेको विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठकले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गर्दै अन्तर्राष्ट्रिय एकीकृत प्रयासका लागि आह्वान गरेको हो । जिका भाइरसको संक्रमण रोक्न तथा यसको प्रभाव कम गर्नका लागि अन्तर्राष्ट्रियस्तरमा भइरहेका प्रयासलाई तीब्रता दिनुपर्नेमा पनि संगठनले जोड दिएको छ । संगठनले यसअघि अफ्रिकी मुलुकमा फैलिएको इबोलाजस्तै जिकालाई पनि स्वास्थ्य आपतकालको घोषणा गरेको हो । यो भाइरस निकै तीब्र गतिमा फैलिरहेको भन्दै विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । जिका भाइरसका कारण बालबालिकाको मस्तिष्कमा असर पर्ने गरेको छ । यसका कारण मस्तिष्क पूर्ण विकसित नभएका बालबालिका जन्मिने र उनीहरुको टाउको पनि सानो हुने गरेको छ । यो भाइरसका कारण ब्राजिल बढी प्रभावित भएको छ ।